प्रहरी हबल्दार माथि गोली प्रहार

  रासस  322 पटक हेरिएको

अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने गोली हानी फरार भएकाको खोजी भइरहेको उहाँले बताउनुभयो । त्यस्तै कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।

विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए । हत्याका अभियोगी कानु घरमै लुकी बसेको सूचनाका आधारमा कारवाही गर्दा उनलाई घर नजिकैबाट पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

पक्राउ परेका कानुलाई आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराई आवश्यक अनुसन्धानका लागि म्याद बुझेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार