प्रहरीमा भविष्य खोज्न गएका युवकको घाँटी रेटेर हत्या

  रासस  426 पटक हेरिएको

नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

“गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।रासस

त्यस्तै राससकै अर्को समाचारमा राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरिएको छ ।
अपाङ्गता संगठन नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अपाङ्गता अधिकारकर्मीले नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताका लागि संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्नुभएको हो । नीति निर्माण तहमा अपाङ्गताको समान सहभागिता गराउनुको सट्टा विभिन्न राजनीतिक दलले निर्वाचनमा भोट बैँकका रुपमा मात्र प्रयोग गर्ने गरेको अधिकारकर्मीको गुनासो छ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. विजय सुब्बाले अधिकारका लागि अपाङ्गता भएका व्यक्तिबीच नै एकता हुन नसकेको भन्दै एकताका लागि आग्रह गर्नुभयो ।

अधिकारकर्मी टेकनाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिको योगदानका कारण देशमा सकारात्मक परिर्वतन हुँदा समेत केन्द्रीय सरकार, प्रदेश सरकार, प्रतिनिधी सभा र राष्ट्रियसभा लगायत राज्यका कुनै पनि स्थानमा अपाङ्गता भएका व्यक्तिको सहभागिता हुन नसकेको गुनासो गर्नुभयो ।

अपाङ्ता सङ्गठन नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गताको सवालमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्न अपाङ्गता भएका व्यक्तिबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र वेरोजगारीको समस्यालाई राज्यले वेवास्ता गरेको उहाँको गुनासो छ । नेपालको पछिल्लो तथ्याङ्कअनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको एक दशमलब ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार