आज सार्बजनिक बिदा कहाँ कहाँ छ

  मूलधार पोष्ट  390 पटक हेरिएको

प्रदेश ५ को नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा।धवल शम्शेर राणाले जानकारी दिनुभएको छ । ‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै पुस २७ अर्थात् ‘राष्ट्रिय एकता दिवस’को दिन सरकारले सार्वजनिक बिदा नदिने भएको छ । सरकारक निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय एकता दिवसका लागि बिदा दिनु नपर्ने धारणा राख्नुभयो । यो दिवस मनाएर दर्शाउने भएका कारण यसका लागि बिदा आवश्यक नपर्ने उहाँको तर्क छ । विभिन्न पार्टी र पक्षले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिनुपर्ने माग गर्दै आएका छन् । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा वि.स २०१२ सालदेखि नेपालमा पुस २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको थियो ।

यसैबीच इलाम पुगेर १६ औं अनशन थालेका डा गोविन्द केसीका माग पूरा भइसकेको सरकारले दाबी गरेको छ । पत्रकार सम्मेलनमा बास्कोटाले केसीका माग सबै पूरा भइसकेको बताउनुभयो । उत्सव मनाउनुपर्ने बेलामा डा केसीले अनशन बस्नु राम्रो नभएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार