देशभरीनै रोजगार सेवा केन्द्र स्थापना

  मूलधार पोष्ट  279 पटक हेरिएको

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएको बताउनु भएको छ । यो कार्यक्रम लागु भएपछि अबको पाँच वर्षभित्रमा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ । गण्डकी प्रदेशको पोखरामा बिहिवार श्रम तथा रोजगार कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेपालको जनशक्ति सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै मन्त्री बिष्टले कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएको धारणा राख्नुभयो । सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सजिलोका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको पनि उहाँको भनाइ थियो ।

नेपालको दुई दिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको छ । विदेशमन्त्री कोनोले प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गर्नु भएको हो । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको जनाइएको छ ।

मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री ओलीको अनुरोधलाई विदेशमन्त्री कोनोले सकारात्मक रूपमा लिएको भट्टराईको भनाइ छ । नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने, नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवर्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि कोनाले जनाउनु भएको थियो ।

यसैबीच कोनोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहिवार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार