सुदूरपश्चिमको पहिचान भुवा पर्व सूरु

  मूलधार पोष्ट  315 पटक हेरिएको

बाजुरा लगाएत सुदूरपश्चिम प्रदेशको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व शुक्रवारबाट विधिवत रुपमा सुरु भएको छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

भुवा पर्व पुषेऔसीका दिनबाट सुरु हुन्छ । पहिलो दिन आफन्तहरु एकठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउँन काठका ठूला ठूला मुडा बाल्ने चलन रहेको छ । जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ ।
तीनदेखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ लगाएतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरव बीच भएको लडाइको सम्झना स्वरुप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा छ ।

यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रुपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रुपमा परापूर्व कालदेखि मनाइदै आएको छ ।

भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रर्दशन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रुपमा पनि विश्लेषण गरिएको जानकार तुलसीराम रोकायाले बताएका छन् ।

पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ ।

भुवा पर्वका अवसरमा बह्मातोलामा होरीनो पर्व मनाइने भएको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्वीरहरु पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ । जिल्ला बासीको पहिचना सँग जोडिएको पर्व अवधीभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगाएत सुदुरपश्तिचमका अछाम, डोटी, बझाङ्ग लगाएतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार