स्वास्थ्य विमा धरापमा

  मुुलाधार पोष्ट  381 पटक हेरिएको

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०७२ चैत २५ गतेदेखि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्ने व्यवस्था छ ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै-झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

स्वास्थ्य बीमा गर्न ५ सदस्य भएको परिवारले फाराम भर्दा वार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । नवीकरण गर्न पनि त्यति नै रकम तिर्नुपर्छ । तर अति गरिब परिवारको सुचिमा भएका परिवारलाई भने निशुल्क स्वास्थ्य बिमा गराईन्छ ।
सुदूरपश्चिम प्रदेश शाखा कार्यालय कैलाली अन्र्तगत स्वास्थ्य बीमा कार्यक्रम लागू भएका पाचँ जिल्ला कैलाली, बैतडी, अछाम, बाजुरा र बझाङमा हाल सम्म २६ हजार ५४ परिवारका एक लाख ५१ हजार ५ सय ६३ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

बिमा नियम अनुसार हालसम्म अति गरिब (निशुल्क) १६ हजार ६ सय परिवारले बिमा गरेका छन् भने शुल्क तिर्न सक्ने ९ हजार ४ सय ५४ परिवारले स्वास्थ्य बिमा गरेको तथ्याङक छ ।

स्वास्थ्य बिमा सुरु भएको चार बर्ष बित्नै लाग्दा सम्म तथ्याङक हेर्दा लक्ष्य अनुसार बिमा गराउन नसकेको कैलाली जिल्ला दर्ता अधिकारी दिपक बिष्टले बताए । नेपाल सरकार भन्दा बाहीरको निकायको कार्यक्रम हो भन्ने जनमानसको गलत बुझाई र सेवा प्रदायक सरकारी अस्पतालहरुको चरम लापरबाहीले सेवा प्रभावकारी हुन नसक्दा बिमा धरापमा परेको उनको भनाई छ ।
उनले भने “सरकारी अस्पताल र फार्मेसिहरुको सेवामा सरकारले सुधार नल्याउने हो भने स्वास्थ्य बिमा कार्यक्रमनै बन्द गर्नु पर्छ ”

सुदूर पश्चिम प्रदेशको एकमात्र ठुलो अस्पताल सेति अञ्चल अस्पतालको कारण सर्वसाधारणमा स्वास्थ्य बिमा प्रति बिश्वास घट्दै गएको दर्ता अधिकारी जानकी मिश्रले गुनासो गरीन् । सरकारी डाक्टरहरुका निजि किल्नीक भएको कारण स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग नगरेको उनले आरोप लगाईन् ।

दर्ता सहयोगी छनौट्मा विवाद

सुदूरपश्चि प्रदेशका अन्य चार जिल्ला दार्चुला, कञ्चनपुर, डोटि, डडेल्धुरामा अझै स्वास्थ्य बिमा कार्यक्रम सुरु हुन सकेकोे छैन् ।
दार्चुला र कञ्चनपुरमा यहि फागुन भित्र सुरु गर्ने योजना भएपनि दर्ता सहयोगी छनौट्मा बारम्बार विवाद आईरहेको प्रदेश कार्यालयका सुचना अधिकारी नैन सिहं धामिले बताए । दर्ता सहयोगि छनौट समितिमा सेवा प्रदायक संस्थाबाट एक जना, वडा अध्यक्ष र वडा सचिव गरी तिन जनाको समितिले छनौट गर्ने व्यवस्था छ ।

स्थानियतहका जनप्रतिनिहरुले आफ्नो नातेदार राख्नु पर्ने भन्दै बारम्बार विवाद गरीरहेका कारण सेवा विस्तारमा ढिलाई भएको धामिले बताए ।

जनप्रतिनिधि र सरोकारवाला सबैले स्वास्थ्य बिमा अभियानमा सहयोग गरे चालु आर्थिक बर्ष भित्र प्रदेशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिसक्ने उनको दाबि छ ।

फार्मेसिमा औषधिकाे अभाव

सरकारी अस्पतालका फार्मेसिहरुले आश्वकता अनुसार बाह्र महिना सम्म प्रति महिना ५ लाख बराबरको औषधि आफैले खरिद गर्ने पाउने व्यवस्था छ ।

सो भन्दा बढी रकमको औषधि खरिद गर्दा टेन्टर पक्रियामा जानु पर्ने हुन्छ । जसको कारण ठेकदारहरुले लापरबाही गरी ढिलो औषधि उपलब्ध गर्ने हुदा सरकारी अस्पतालको फार्मेसि हरुमा औषधि अभाव हुने गरेको सेति अञ्चल अस्पताल स्वास्थ्य बिमा सम्पर्क व्यक्ति श्रीराम चौधरीले बताए ।

अञ्चल अस्पतालबाट चालु आर्थिक बर्षको हाल सम्म ओपीडी सेवा, आईपीडी, इमर्जेन्सी र प्रेषण गरिएका गरि जम्मा ४ हजार, ३ सय चार जनाले स्वास्थ्य बिमा बाट सेवा लिएको तथ्याङक छ । तग आर्थिक बर्ष ७ हजार एक सय चार जनाले सेवा लिएको तथ्याङक छ ।

पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुको संख्या बढ्नुको सट्टा घट्दै गईरहेको बिमा अभिकर्ताको बुझाई रहेकोे छ । आर्थिक स्थिति कमजोर विपन्न परिवारहरु स्वास्थ्य सेवा बाट बञ्चिन नहुन भन्ने उद्देश्यले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयनमा सरकारी पक्षले चरम लापरबाही गर्नु दुख्खको बिषय बनेको सर्वसाधारणको बुझाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार