सरकारले गर्यो ५२ हजार कर्मचारीको विवरण तयार, पूर्ण विवरण सहित

  पत्रपत्रिकाट  697 पटक हेरिएको

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ५२ हजार कर्मचारीको विवरण अद्यावधिक गरेको छ । राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गरेको हो ।
निजामतीतर्फका ८९ हजारमध्ये किताबखानाले ५२ हजारको विवरण तयार पारेको हो । बाँकीको विवरण छिट्टै तयार पारिने किताबखानाले जानकारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको यही विवरणका आधारमा कर्मचारीको समायोजन गर्नेछ । मन्त्रालयले गत बुधबारै सार्वजनिक सूचनामार्फत कर्मचारीलाई समायोजन फाराम भर्न आह्वान गरिसकेको छ । २१ दिनको म्याद दिएको सरकारले त्यसलगत्तै कर्मचारीको समायोजन थाल्नेछ । सरकारको सो सूचनाअनुसार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि छनोट गर्नुपर्नेछ । समायोजन अध्यादेशमा कर्मचारी समायोजन गर्दा अपनाउनुपर्ने प्रमुख आधारका रूपमा कर्मचारी कार्यरत पदको ज्येष्ठता, सो पदमुनिको पदको ज्येष्ठता र उमेरको ज्येष्ठतालाई राखिएको छ । समायोजन अध्यादेशमा भएको समायोजनका आधारका लागि सोहीअनुसार कर्मचारीको विवरण अद्यावधिक गरिएको किताबखानाका महानिर्देशक जयराज आचार्यले जानकारी दिए । ‘हामीले तयार पारेको विवरणका आधारमा नै सरकारले कर्मचारीको समायोजन गर्नेछ,’ महानिर्देशक आचार्यले राजधानीसँग भने ।

कर्मचारीले समायोजनका लागि फाराम भर्नासाथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको कर्मचारीको अद्यावधिक विवरण अध्ययन गर्ने गरी सफ्टवेयर विकास गरेको छ । सो सफ्टवेयरमार्फत कर्मचारीको विवरण हेर्दै सोहीअनुसार कर्मचारीको धमाधम समायोजन थालिने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । सोअनुसार विभिन्न पदमा रहेर काम गरेका सबैभन्दा ज्येष्ठ कर्मचारीले रोजेको स्थानमा समायोजनको अवसर पाउनेछन् । एउटै पदमा समान ज्येष्ठता भएमा त्यसभन्दा अघि कार्य गरेको पदको ज्येष्ठता हेरिनेछ । यसैगरी, उमेरमा ज्येष्ठ रहेकालाई पनि समायोजनका क्रममा रोजेको स्थान दिइनेछ । समायोजन फाराम नभर्नेहरूलाई भने सरकारले आफैंले जहाँसुकै पनि समायोजन गर्न सक्ने सचिव थपलियाले बताए ।

राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गर्नुका साथै कर्मचारीका लागि ढेड लाख बढी सूचना जारी गरिसकेको जनाएको छ । किताबखानाका अनुसार कर्मचारी विवरण अद्यावधिक गर्दा अहिले कर्मचारी कार्यरत रहेको पद र कार्यालय, अहिलेको पदको नियुक्ति मिति, अघिल्लो पदको नियुक्ति मिति, सुरुको नियुक्ति मिति, स्थायी ठेगाना र वैवाहिक स्थितिलाई हेरी सोहीअनुसार गरिएको छ ।
विवरणमा त्रुटि भएको भन्दै असन्तुष्टि

केही कर्मचारीले भने किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गर्दा आफ्नो व्यक्तिगत विवरणमा त्रुटि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । किताबखानाले कर्मचारी विवरण अद्यावधिक गर्दा हाल कार्यरत रहेको पदको नियुक्ति मिति गलत पारिदिएको र दुई तीन वर्षसम्मको अवधि घटाइदिएको बताएका छन् । समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता हेरिने तर किताबखानाले त्यसमा नै त्रुटि गरिदिँदा आफूहरू अन्यायमा परेको कर्मचारीले बताएका छन् । किताबखानाका महानिर्देशक आचार्यले भने सुरुमा केही सामान्य त्रुटि भए पनि त्यस्ता त्रुटि सच्याइसकिएको जानकारी दिए ।

आन्दोलनबाट पछि हट्यो युनियन
सरकारले सुरु गरेको कर्मचारी समायोजन प्रक्रियाको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका कर्मचारीका युनियन अन्ततः पछि हटेका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच आइतबार भएको वार्तापछि युनियन आन्दोलनबाट पछि हटेको हो । आफ्ना माग पूरा नगर्दै समायोजन प्रक्रिया थालिएको भन्दै युनियनहरू सरकारसँग रुष्ट हुँदै आएका छन् । तर, सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भई जाने कर्मचारीलाई केन्द्रमा आउनका लागि बढुवाका सबै अवसर खुला गर्ने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा बनाएको छ ।

बढुवाका सबै बाटा खोलिने भएकाले कर्मचारीको आन्दोलनको कुनै तुक नभएको सरकारी पक्षले बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आइतबार सरकारी अधिकारी र आधिकारिक ट्रेड युनियनका पदाधिकारीबीच भएको वार्तामा बढुवाका सबै अवसर खुला गराउन सरकारी पक्ष सहमत भएका छन् । आधिकारिक ट्रेड युनियनका पदाधिकारीले बढुवा मात्रै नभएर आफूहरूले अघि सारेका १३ बुँदे माग पूरा गराउन सरकार तयार रहनुपर्ने धारणा व्यक्त गरेका थिए । ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारीका केही माग संघीय निजामती सेवा ऐनद्वारा पूरा गर्ने र केही माग प्रतिस्थापन विधेयकमार्फत पूरा गर्न सरकारी प्रतिनिधिहरू सकारात्मक भएको बताए ।

अध्यक्ष ढकालले वार्ता प्रक्रिया जारी रहेको र कर्मचारीका माग पूरा गराउन आफूहरू सवंदनशील भएर लागेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार वार्तामा बढुवा प्रक्रिया खुला गर्नेबाहेक अन्य विषयमा कुनै छलफल भएको छैन । प्रतिस्थापन विधेयक आउन नसक्ने ती अधिकारीले जानकारी दिए ।

५ दिनमा १२ हजारले भरे फारम
सरकारले बुधबारदेखि थालेको समायोजन प्रक्रियामा पाँच दिनभित्रै १२ हजार कर्मचारी सहभागी भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आइतबार साँझसम्म समायोजनमा जानका लागि देशभरबाट १२ हजार कर्मचारीले फाराम भरिसकेको विवरण प्राप्त भएको जानकारी दिए ।

मन्त्रालयले गत बुधबार मात्रै सूचना प्रकाशित गर्दै २१ दिनभित्र समायोजनका लागि फाराम भर्न सम्पूर्ण कर्मचारीलाई आह्वान गरेको थियो । सो आह्वानअनुसार १२ हजार कर्मचारीले समायोजनका लागि फाराम भरेको र यो क्रम एकाएक बढ्दै गएको सचिव थपलियाले बताए । सचिव थपलियाका अनुसार समायोजन फाराम भर्ने प्रक्रियालाई अझै सहजीकरण गर्दै लगिनेछ ।

मन्त्रालयले समायोजन प्रक्रियालाई सहज बनाउन सोमबार केन्द्रीय मन्त्रालयका सबै हेल्पडेस्कमा ओरेन्टेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ भने सातै प्रदेशमा समेत ओरेन्टेसन कार्यक्रम आयोजना गरिने भएको छ ।
‘मुलुक अब समायोजनमय भइसक्यो, यो संविधानको कार्यान्वयनको विषयवस्तु भएकाले कसैले पनि रोक्न सक्दैन,’ सचिव थपलियाले राजधानीसँग भने । संघीय मामिला मन्त्रालयले आइतबार नै सबै मन्त्रालयका सचिव तथा मातहतका विभाग र कार्यालयलाई पत्राचार गर्दै समायोजन प्रक्रियामा एकले अर्कालाई सहयोग गर्दै समायोजन अभियानलाई व्यापक बनाउन निर्देशन दिएको खबर आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार