पत्रकारितामा नैतिक संकट

‘पीत’ पत्रकारिता बढ्दो

  भूमिराज जोशी  363 पटक हेरिएको

स्थानीय तहको निर्वाचन भईरहँदा बढीजसो सञ्चारकर्मीहरुलाई नेताको भन्दा बढी चुनाब लागे जस्तो देखिन्छ । सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु रङ्ग्याउनेहरु मध्ये सबैभन्दा बढी पत्रकार नै पर्छन होला । आफ्नो पेशाका आचारसंहितालाई बिर्सेर पार्टी (दल) मुखी भएका पत्रकारहरुले के आम जनताका आवाजहरुलाई प्रस्फुटन गर्लान त ? भन्ने बिषयमा सर्बसाधारणहरुले प्रश्न उठाउने गरेका छन ।

पछिल्लो समयमा अत्याधिक मात्रामा बढीजसो पत्रकारहरु सामाजिक सञ्जाल फेसबुक तथा टुइटरमा आ–आफूले बिचार बोकेका पार्टीहरुको ब्यापक प्रचार र खण्डन गर्नमा जुटेका छन । कुन पत्रकार कुन पार्टीसंग आबद्ध रहेर कलम चलाइरहेको छ भन्ने कुरा स्पष्ट बुझिन्छ । बिचार बोकेका पार्टीहरुकै कारणले पत्रकारहरु बीचमा नै दोहोरी चलिरहन्छ ।

आफ्नो पेशाको धर्मलाई भुल्दै स्वार्थको पछाडी लागेर बद्नामित बन्दै र पेशालाई पनि बद्नामित गर्दै आएका छन । कुनै संघसंस्थाका कार्यक्रमहरु आएको बेला स्थानीय स्तरमा पत्रपत्रिकाहरु दर्ता गर्ने । चुनाबको बेला पार्टीमुखी पत्रिकाहरु दर्ता गर्ने लगायतका समस्याले स्वच्छ पत्रकारिता गर्ने पत्रकारलाई मार खेपाइरहेका छन । सर्बसाधारणहरुले पनि पश्न खडा गर्नु स्वभाबिक हो ।

एउटै पत्रकार ब्यापारी, एनजिओ÷आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक लगायत पेशामा आबद्ध भएको हुन्छ । यति मात्र होइन की कुनै दलको प्रबक्ता समेत भएको हुन्छ । अनि त्यो कसरी स्वतन्त्र पत्रकार हुनसक्छ । पत्रकारहरु दिनप्रतिदिन कुटिँदै छन । त्यो पनि बहुपेशा र पार्टीमुखी भएकै कारण हो ।

पत्रकारको परिचय पत्र बोकेर परिचय पत्रको पनि दुरुपयोग गर्दै बिभिन्न बिकृति बिसंगति जस्ता कार्यमा पनि संलग्न हुने, लागुपदार्थहरु पनि सेबन गरेर पत्रकारिता क्षेत्र नै हिलाम्य बनाउँदा नैतिक संकट देखिदै आएको छ ।
कहिल्यै पत्रकार भएर सार्वजनिक कार्यक्रममा बोल्छ, कहिल्यै वकिल भएर बारको चुनाबमा पनि सहभागी हुन्छ, कहिल्यै राजनीतिदलको चुनाबमा उठ्छ, कहिल्यै आन्दोलनकारीसंग नै मिलेर तोडफोड जस्ता कार्यमा संलग्न हुन्छ, तर, उसले कहिल्यै पनि समाचार लेख्दैन । पत्रकारिताका भाषण दिन कहिल्यै पछि पर्दैन । आफ्नो परिचय दिन्छ, म फलानो पत्रकार ।

ति नै पत्रकारहरु बर्षांै अगाडीदेखि बन्द भएका मिडियाहरुको नाम उल्लेख गर्दै पुराना ग्राहकहरुसंग बार्षिक, बिज्ञापन, शुभकामना, क्यालेन्डर छापेर पैसा असुल गर्नेमा पनि कम छैनन् । फेरी पाठकले बन्द भएको मिडियाको पैसा दिदैन भनेपनि धाकधम्की देखाएर ‘हुन्छ’ भन्ने बाध्य पार्छन । यसले गर्दा पत्रकारिता पेशालाई आम जनताले कमजोरको दृष्टिले हेर्दै गएका छन ।

कुनै नयाँ मान्छेसंग परिचय गर्दा आफू क्रियाशिल पत्रकार भएको भन्न पनि पछि पर्दैनन, जो समाचारको ‘स’ पनि नलेख्नेहरु । अनि त्यस्ता पत्रकारले कसरी आवाज बिहीनको आवाज बाहिर निकाल्न सक्छ ? कसरी दुखी पीडितहरुको घाउमा मलमपट्टी लगाउनमा सहयोग गर्छ ? पत्रकारितामा यस्ता बिकृतिलाई सुधार्न सकिएन भने, हाम्रो पत्रकारिताको अबको बाटो झनै चुनौतीपूर्ण हुन्छ ।

पत्रकारिता आफैंमा बौद्धिक पेशा हो । समसामयिक कुराको ज्ञान अपडेट राख्ने पेशा हो तर आज पत्रकारिता भन्नासाथ नाक खुम्च्याइनुपर्ने अवस्था समाजमा सृजना भएको छ । सामाजिक सञ्जालमा आ–आफैंमा पार्टीमुखी दोहोरी । केही पत्रकारहरु त यस्ता पनि छन की पार्टीका भेष्ट टोपी लगाएर प्रचारमा जाने । फर्केपछि तिललाई पहाड बनाए झैं समाचार बनाएर लेख्ने । बिपक्षीहरुलाई खण्डन मात्र गर्ने । यस्तो बिकृति सृजना भएको पनि पत्रकारिताको धर्म नबुझेकाहरु प्रबेश भएकै कारण सृजना भएको हो ।

पत्रकार बन्नका लागि न्युनतम योग्यता तोक्ने तथा योग्यता परीक्षा लिनुपर्ने आवश्यकताको अनुभूति पनि यस्तै प्रबृतिबाट भएको हो । सानो स्वार्थका लागि कसैलाई धुरी चढाइदिने वा सानो रिसिबीका कारण कसैको हुर्मतै लिने असंयम अभ्यासका कारण पत्रकारिताको गरिमामा आँच आइरेको छ ।

२०४७ साल यता राजनीतिक दलको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाले निष्पक्ष समाचार संप्रेषण गर्नुको सट्टा आफू पक्षधर पार्टीको बिचार प्रबाह गर्ने र वास्तबिकतालाई ढाकछोप गर्ने प्रबृति पनि पर्याप्त छ । नेपालका कतिपय मिडियाहरुले आफ्नो पक्षको समाचार बाहेक अरु प्रकाशन गर्न खासै मनाई गर्छन ।

राजधानीबाट प्रकाशन हुने पत्रपत्रिका, अनलाईन तथा टेलिभिजनहरुमा पनि जिल्लाबाट संवाददाताहरुले पठाएको समसामयिक समाचार प्रशारण तथा प्रकाशित हुने तर देशकै केन्द्रीय नेताहरुका समाचारहरु पठाएमा आफ्ना पार्टीका छन भने प्रकाशित हुने र अर्को पक्षका छन भने स्थान नै नदिने देशकै ठूला सञ्चार माध्यमहरुले नै गर्ने गरेका छन ।

बिज्ञापनको लागि तथा आफू र आफ्नो सञ्चार–माध्यम क्षणिक रुपमा भएपनि चर्चामा ल्याउनका लागि पछिल्लो समयमा पीत पत्रकारिता बढ्न थालेको छ । पीत पत्रकारिता भनेको टिकाउ भन्दा बिकाउ भन्ने बुझिन्छ । जसरी आफ्ना प्रकाशन भएका सामाग्रीहरु बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचार । तथ्य कम कथ्य बढी । पाठकका आँखालाई आकर्षित गर्ने गरि रचिएका शीर्षक । सस्ता तस्बिरको प्रयोग । आकर्षित पार्ने खालका ठूला अक्षर, उत्तेजक प्रस्तुती, समाचारमा परिचय नखुल्ने अज्ञात श्रोत र सत्य तथ्य सामाग्री भन्दा आँखा लोभ्याउने साज सज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाई गराउनुलाई नै पीत पत्रकारिता भन्ने गरिन्छ ।

समाचार बटुल्नका लागि (प्राथमिक श्रोत) गहिराईमा नपुगी (द्धितीय श्रोत) सतहबाट बटुलिएका समाचार संप्रेषण गर्ने बिबादित बिषयमा गरिएको एकतर्फी रुपमा पक्ष पोषण गर्ने बिज्ञापन नपाएको भरमा बिरुद्धमा समाचारहरु लेखेर प्रतिशोध साँध्नु नै पीत पत्रकारिता हो । पछिल्लो समयमा प्रतिशोध साँध्ने र असुली गर्ने पत्रकारहरुको नै बिगबिगी छ ।

पत्रकारिता पेशामा अर्को चुनौती भनेको गैर पत्रकारलाई सदस्यता बितरण गर्नु हो । १० बर्षे पत्रकारिताको नक्कली अनुभब बनाएर एउटाको नाममा दर्ता गर्ने र अर्कैले चलाउने परम्परा बढ्दो छ । यसरी पत्रकारिता पेशामा छिरेकाहरुले नै पेशालाई धमिलो बनाइरहेका छन । जिल्लामा अनुहार नै नदेखिएका, बर्षौं पहिलेदेखि नै पत्रकारितालाई लात हानेका, समाचार कहिल्यै नलेख्नेहरु, बिभिन्न पेशालाई अँगालेका तथा सरकारी सेवामा पनि आबद्ध भएका, अग्रज पत्रकार भन्दै समाचार नलेखे पनि सम्मान गर्ने प्रबृतिले गैर पत्रकारहरु मौलाएका पनि हुन ।

पत्रकार महासंघको नयाँ तथा नबिकरण गर्ने फाराममा नै उल्लेख गरेको हुन्छ कि ‘गैर पत्रकारलाई सदस्यता नदिऔं’ भनेर । तर पत्रकार महासंघका शाखाहरुमा आफ्नो प्यानललाई बिजयी गराउनका लागि अरुले लेखेको समाचारमा नाम राखेर भएपनि गैर पत्रकारहरुलाई कार्यसमितिमा भित्र्याउने प्रबृति नै बसिसक्यो । एकले आफ्नो पक्षमा बहुमत ल्याउनका लागि पचास जनालाई सदस्यता दिन्छ भने अर्को पक्षले सय जनालाई । यसरी सदस्यता बितरण गर्नमा पनि प्रतिस्पर्धा गरिन्छ । लेख्ने भन्दा पनि लेखाउनेहरुको संख्या ठूलो हुन्छ ।
पत्रकार महासंघको कार्यसमितिमा आबद्ध भएकै बेला पनि कुनै पार्टीको नेतृत्व गर्दै उम्मेदवार बन्ने, प्रचार प्रसारमै हिड्ने, पत्रकारिता बाहेकका अन्य पेशामा आबद्ध हुने, समाचार नलेखेरै कार्यकाल बिताउने पत्रकारहरु पचास प्रतिशत भन्दा कम छैनन् ।

समाजमा पत्रकारिता भनेकै कमजोरको हतियार हो भन्ने बुझाइ भइसकेको छ । आवाज बिहीनहरुको आवाज झनै बिहिन हुन्छ भन्ने बुझाई भइसक्यो । पत्रकारिता पेशा देश र समाजप्रति उत्तरदायी हुनुको साटो ब्यक्तिगत स्वार्थमा उत्तरदायी बढी भएको पाइन्छ ।

पत्रकारिता भनेकै मर्यादित समाजप्रति बफादार भएकै कारण समाजले पनि सत्य सूचना, स्वस्थ आलोचनाको अपेक्षा गरेको हुन्छ । तर कतिपय हाम्रा सम्पादकहरु यस्ता पनि छन की आफ्नो पेशाको दायित्व नै थाहा हुदैन । जे छाप्यो त्यहि समाचार भन्ने हामीमा भ्रम छ ।

हाम्रो समाचार परपीडक हुनुहुदैन । पीडा माथि पीडा थप्नु हुनु हुदैन । भन्ने बिभिन्न पत्रकार आचारसंहिता २०६० र ०६४ संसोधित सहितमा उल्लेख गरेका उपदफाहरु ६० प्रतिशत पनि सही कार्यान्वयन भएका छैनन् ।
पत्रकारिता पेशा एउटा आफैंमा प्रतिष्ठित र मर्यादित पेशा भएरै राज्यले पनि चौथो अङ्ग घोषणा गरेको छ ।

पत्रकार भनेको समाजमा ऐना हो, ऐनाले जस्तो बस्तु छ, त्यस्तै देखाउछ । ऐनासँग कुनै स्वार्थ हुदैन । संसारमा कुनै वस्तुसँग सधै सत्यता छ भने, त्यो सत्यता ऐनासँग छ । ऐना र पत्रकार भनेका एउटै रथका दुई पांग्रा हुन भन्ने कुरा वास्तबिक हो । तर ऐनालाई पत्रकारले सम्झनै मान्दैन ।

राज्य तथा समाजलाई सही ढंगले संचालन गर्नको लागि सहायक प्रमुखको रुपमा पत्रकार हुन्छ । त्यसैले पत्रकारले आफ्नो आँखा अगाडी जे देख्छ, सधै त्यही लेख्छ । पत्रकारले ऐनाका रुपमा काम गर्दछ । यस्तो काम गर्नु भनेको पत्रकारको नैतिकतामा पर्छ ।

कतिपय देशहरुमा राष्ट्रलाई सही ढंगले सञ्चालन गर्नका लागि कार्यकारीले आफ्नो निमित्त भनेर राख्छन त कतिपयले प्रेस सल्लाहकार राख्ने गर्दछन । संसारमा कसैको विश्वास छ भने, त्यो पत्रकारसँग विश्वास हुन्छ । त्यहि विश्वासले गर्दा आज पत्रकार भनेको राज्यको अभिन्न अङ्ग भएको छ । त्यसै बिश्वासले पत्रकारले तथा संचार माध्यमसँग सवैको झुकाव रहन्छ ।

एउटा पत्रकार स्वतन्त्र भएर समाजको सेवा गर्ने हो भने पत्रकारको सुरक्षाको लागि पनि आम जनताले आवाज उठाउँछन । जब पत्रकार कुनै पार्टी मुखी हुन्छ । एकलौटी आवाज उठाउछ भने त्यो स्वतन्त्र पनि हुन सक्दैन र त्यसको सुरक्षा पनि हुदैन । एक पक्षको बढाइचढाइ गरी समाचार संप्रेषण गर्दा अर्को पक्षले ढुंगामुडा उचाउनु सामान्य हो । किनकी स्वतन्त्र पत्रकार पार्टी मुखी भएको हुन्छ ।

त्यसैले आचारसंहितामा रही जनताको सेवा गर्नु नै पत्रकारलाई न्यायिक स्वतन्त्रता हो । कार्यसमितिमा बसेको बेला पनि नेतृत्व लिदै सबैलाई परिचालन गर्न सक्नुपर्छ । यदि समाचार नलेख्ने भएपछि पनि पत्रकारिता पेशा नै छोडेर स्वतन्त्र नागरिक बन्नु जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार