दुर्घटनामा आमाको मृत्यु छोरा गम्भिर घाइते

  मूलधार पोष्ट  278 पटक हेरिएको

महोत्तरी-जिल्लाको भङ्गाहा नगरपालिका वडा नम्बर –२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ । शनिबार करीब ६ बजे बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजार गएकामा बजारमै उनको मोटरसाइकल दुर्घटना हुँदा दुवै आमा छोरा गम्भीर घाइते भएका थिए ।

घाइते दुवैमध्ये बढी गम्भीर आमा लक्ष्मीनियादेवी सिंहलाई उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । त्यस्तै बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रसाइली घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर करीब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको र आइतबार शव परीक्षणपछि परिवारलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार