दोहोरो सुविधा लिदै स्थानिय जनप्रतिनिधि (नाम सहित)

  मूलधार पोष्ट  872 पटक हेरिएको

बाजुरा- जिल्लामा निर्वाचित जनप्रतिनिधिले दोहोरो सुविधा लिने गरेको खुलासा भएको छ । दोहोरो सुविधा लिन नमिल्ने स्थानीय स्वायत्त शासन ऐनमै व्यवस्था भएपनि जनप्रतिनिधिले प्रावधान विपरित कार्य गरिरहेका छन् । सुविधा लिनेमा वडा अध्यक्ष देखि कार्यपालिका, वडापालिका सदस्य रहेका छन् ।
सरकारी जागिर छोडेका वा सेवा अवधी पुरा भएर राज्यको निवृत्तिभरण सेवा लिँदै आएका व्यक्तिहरु जनप्रतिनिधिमा निर्वाचित भएपछि त्यो सुविधा लिन पनि पछि परेका छैनन् । निवृत्तिभरण सुविधा र जनप्रतिनिधीले पाउने तलबी सुविधा दुबै लिने गरेको भन्दै आलोचना पनि बढ्न थालेको छ । जनप्रतिनिधीबाटै स्थानीय स्वायत्त शासन ऐन विपरित काम भएको कर्मचारी र नागरिक समाजका अगुवाहरुको आरोप छ ।

हिमाली गाँउपालिका ७ का वडाअध्यक्ष जय बहादुर अधिकारी पुर्व सैनिक हुन्, । उनले निवृत्तिभरणसँगै गाँउपालिकामा मासिक पाँउनु पर्ने २० हजार पनि सुविधा लिने गरेको गाउँपालिकाले बताएको छ । जनप्रतिनिधिले नै लिन्छु भनेपछि दिनु पर्ने अवस्था आएको कर्मचारीको भनाई छ ।

यता बुढीनन्दा नगरपालिका २ का वडा अध्यक्ष भिम बहादुर कार्कीले ५० प्रतिशत सेवा लिएरहेका छन् । कार्की पूर्व भेटेनरी जेटीए हुन् । राज्यबाट लिन मिल्ने सेवा भएकोले सेवाको ५० प्रतिशत सुविधा लिने गरेको बताए । राज्यको नीति र ऐन विपरित कार्य नगरेको र कसैले आरोप लगाए त्यो झुटो हुने कार्कीको भनाई छ ।

यता बडिमालिका नगरपालिकामा १ का वडा सदस्य बिश्वराज पण्डितले पनि दोहोरो सुविधा लिईरहेका छन् । पण्डित पूर्व जिल्ला कृषि विकास कार्यालयका अधिकृत हन् । पण्डितले निवृत्तिभरण सहीत  वडा सदस्यले पाउने मासिक ६ हजार सुविधा लिने गरेको नगरपालिका लेखापाल पशुराम गिरीले बताएका छन् ।
सुविधा दिन मिल्ने नमिल्ने बारे आफूलाई कुनै जानकारी नभएकोले मासिक रुपमा दिईरहेको गिरीको भनाई छ ।

स्वामिकार्तिक गाँउपालिकाले भने गाँउपालिकाबाट पाउनु पर्ने रकमको ५० प्रतिशत मात्र दिईरहेको बताएको छ । गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णु बहादुर शाही पुर्व प्रहरी र वडा नम्बर ४ का अध्यक्ष काशिराम कैला बाणिज्य बैकका कर्मचारी हुन् । वडा अध्यक्ष द्धयलाई भने गाँउपालिका बाट मासिक १० हजार मात्र दिने गरेको स्वामिकार्तिक गाँउपालिका निमित्त कार्यकारी कुबेर शाहीले बताएका छन् । गाउँपालिका अध्यक्षले पाउने मासिक २० हजार सुविधा हो ।

कोष लेखा नियन्त्रण कार्यालय बाजुराका लेखापाल धन बहादुर थापा भने यस्तो अबस्थामा दुई मध्ये एक सुविधा मात्र लिन पाउने ब्यवस्था रहेको बताएका छन् । नैतिक आधारले एक ठाँउको मात्र रकम लिनुपर्ने हो, तर देशैभरी दोहोरो सुबिधा लिने गरेको थापाले थपे । नियमन अनुगमन गर्ने निकाय कोही नहुँदा दोहोरो सुबिधा लिने गरेको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार