त्रिशुली खसेको बसमा घाइते अवस्थाका बालक को हुन् ? पहिचानको लागि सबैले शेयर गर्नुहोला

  मूलधार सम्वादाता  588 पटक हेरिएको

काठमाडाैं-  पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा सातजना यात्रुको ज्यान गएको छ ।

काठमाडौँबाट अर्घाखाँचीको लागि छुटेको लु २ ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थाका बालक को हुन् ?

यही घटनामा परेका एक नाबालक पनि दुर्घटनास्थलमा भेटिएका छन् । घाइते अवस्थामा भेटिएका यी बालकका अभिभावकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

सात जनाको ज्यान गएको र २५ जना घाइते भएको यो घटनामा परेका बालकको अहिले भरतपुरको सानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा रहेका ती बालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । चिकित्सकहरुले सबै घाइतेहरुको उपचार जारी रहेकाले तत्काल केही पनि नबोल्ने बताएका छन् ।

चितवन ल्याइएका घाइते र मृतकहरुमध्येबाट नाबालकका अभिभावकको पत्ता लागेको छैन । प्रहरीले नाबालकका अभिभावकलाई काठमाडौँ लगिएकोबारे पनि जानकारी लिइरहेको छ ।

एकजनाको मात्रै सनाखत

यो घटना लगत्तै छ जनाको शव भेटिएको थियो । त्यसपछि कुरिनटारको गोताखोर प्रहरीले त्रिशूलीबाट एकजनाको शव निकालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकमध्ये देवदह नगरपालिका वडा नम्बर १० नवलपरासीका दिपक पाण्डेको मात्रै परिचय खुलेको छ । दुर्घटनामा मृत्यु भएका सबैको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

बसका सहचालक सुनील क्षेत्रका अनुसार बसमा ३२ जना सवार थिए । २४ जना घाइतेमध्ये १५ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई एम्बुलेन्स र दुईजनालाई हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । चारजनाको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको पन्तले बताए ।

सचिवका भाइ बेपत्ता

दुर्घटनामा एकजना यात्रु हराइरहेका छन् । नेपाल सरकार उर्जा आयोगका सचिव मधुसुधन अधिकारीका दाजु अर्घाखाँची घर भएका नुदराज अधिकारी हराइरहेको प्रहरीले जनाएको छ ।

उपचारका लागि भरतपुर ल्याइएकामध्ये नौ जनाको मात्रै परिचय खुलेको छ । घाइते भएकामध्ये बसका चालक कपिलबस्तु घर भएका ४० वर्षीय यमबहादुर क्षेत्री, सहचालक प्युठान घर भएका २० वर्षे सुनील क्षेत्री, अर्घाखाँचीकी २१ वर्षीय ईन्दिरा दमासे, अर्घाखाँचीकै २० वर्षीय सन्दिप दमासे र अर्घाखाँचीका ३० वर्षीय गोविन्द बहादुर सुनार रहेका छन् ।

त्यसैगरी बाँकेकी ४० वर्षीय उमा पोखरेल, अर्घाखाँचीका ३१ वर्षीय राजेन्द्र रायमाझी, अर्घाखाँचीका ४२ वर्षीय माधव खनाल र नाम नखुलेका करिब ५-६ महिनाका बालक रहेका छन् । सबैको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । -जनता समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार