नेताहरुको बिवादले काँग्रेसमा भाडभैलो

  मूलधार पोष्ट  246 पटक हेरिएको

काठमाडाै‌- विधानको विवादका कारण नेपाली कांग्रेसको महासमिति बैठक अन्यौलमा परेको छ । मंगलबार सकिनुपर्ने बैठक आजसम्म पनि मुख्य मुद्दामा छलफलमा प्रवेश गरेको छैन । पार्टीलाई संघीय संरचनामा लैजान सोहीअनुरूपको विधान पारित गर्ने मूल एजेन्डासहित २९ मंसिरबाट सुरु भएको कांग्रेस महासमिति बैठक विधान नआउँदा बन्धक भएको हो ।

महासमिति सुरु हुनुअघि नै विधानमा देखिएको गुटगत विवाद पूर्वनिर्धारित अन्तिम मिति सकिँदासम्म पनि सहमतितर्फ पुग्न नसक्दा जारी महासमिति विधानकै कारण बन्धक बन्न पुगेको हो ।विधानमा सहमति जुट्न नसकेपछि महासमितिसमेत लम्बिएको छ ।कांग्रेसले तयार गरिरहेको पार्टीको संशोधित विधानमा पदाधिकारी संख्या मूल विवादका रूपमा रहँदै आएको छ ।

कांग्रेसभित्रको संस्थापन पक्षका दोस्रो तहका नेताहरूले मंगलबार राति भएको शीर्ष तहको सहमति नमान्ने बताएपछि विधानमा सहमतिमा पुग्न नेताहरूलाई झनै असहज हुँदै आएको छ ।केन्द्रीय समिति बैठकमा शीर्ष तहमा भएको सहमति नमान्ने आवाज सभापति शेरबहादुर देउवानिकट समूहका दोस्रो तहका नेताहरूबाटै उठेपछि नेताहरू झनै अप्ठ्यारोमा परेका छन् ।

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा विधान पेश हुन नसकेपछि महासमिति सदस्यहरु निराश बनेका छन् । महासमिति सदस्य रुद्र अधिकारीले आज सहमति गरेर आजै बैठक सक्नेगरि नेताहरुले आश्वासन दिएको सीआईएनलाई जानकारी दिनुभयो । आज पनि बिहानैदेखि नेताहरु छलफलमा छन् ।तर महासमिति बैठक सुरु भइसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार