बाजुरामा भेटिए कुष्ठ रोगका विरामी

  मूलधार पोष्ट  239 पटक हेरिएको

बाजुरा- त्रिवेणी नगरपालिकामा दुई जनामा कुष्ठरोग भेटिएको छ । मङ्गलवारदेखि त्रिवेणी नगरपालिकाको कैलाशमाणडौ स्वास्थ्य शाखाले आयोजना गरेको छाला रोग शिविरमा जाँचका लागि आएका २ सय १६ जना मध्य दुई जनामा कुष्ठ रोग देखिएको स्वास्थ्य शाखा प्रमुख चिरञ्जीबी शाहले बताउनु भएको छ ।

रोग देखिएका दुबै जनालाई अहिले उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जाँच गरिएका मध्ये तीन जनालाई विशेष जाँचका लागि जिल्ला भन्दा बाहिर रेफर समेत गरिएको छ । नेपाललाई कुष्ठरोग मुक्त देश घोषणा गरिएको भए पनि गाउँमा अझै कुष्ठरोगका लक्षण देखिने गरेकाले त्रिवेणी नगरपालिकाको कैलाशमाण्डौ स्वास्थ्य चौकीले शिविरको आयोजना गरेको हो ।

कुष्ठरोगीको पहिचान तथा उपचार गर्न आयोजना गरिएको छाला रोग शिविरमा अपेक्षा भन्दा बढी विरामीले चेक जाँच गरेको कैलाशमाण्डौ स्वास्थ्य चौकीले जनाएको छ । गाउँमा लुकेर बसेर खुलेर आउन नमान्नेकाहरुका लागि लक्षित गरेर कैलाशमाण्डौ स्वास्थ्य चौकीले शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर दुर्गा महर्जन, जन स्वास्थ्य फाँट प्रमुख अशोक कुमार सिंह र त्रिवेणी नगरपालिका स्वास्थ्य शाखा संयोजक चिरञ्जीबी शाहले चेकजाँच गर्नु भएको थियो ।

कुष्ठरोगको उपचार अहिले जिल्लाका प्रत्येक स्वास्थ्य चौकीमा हुने गरेको छ । त्रिवेणी नगरपालिकामा अहिले सम्म चार जना कुष्ठरोगी भेटिएका र परीक्षणका लागि रिफर गरेका तीन जनालाई पनी कुष्ठरोग हुन सक्ने सम्भावना रहेकोले उनीहरुलाई थप चेकजाँचका लागि अछामको बयालपाटामा रेफर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार