के हामी राज्यका कर्मचारी होइनौँ लालबाबु पण्डितज्यू

  मीनप्रसाद जैशी  256 पटक हेरिएको

माननीय मन्त्री लालबाबु पण्डितज्यू
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सिंहदरवार, काठमाडौँ ।

कर्मचारी समायोजनको विषयले बजार तातिरहेको वेला त्यही कर्मचारी समायोजनको भुङ्ग्रोमा जाकिनै लाग्दा सर्वप्रथम यो सुदूर बस्तीबाट माननीय मन्त्री ज्युलाई म र म जस्ता सम्पूर्ण पीडित जुनियर कृषि प्राविधिकको तर्फबाट नमस्कार गर्दै यो खुला पत्रका माध्यमबाट विषयवस्तुमा प्रवेश गर्न चाहन्छु ता कि कुनै दिन यो पत्र तपाईँ कहाँ पुग्यो भने तपाईँको महत्त्वपूर्ण समयको बचत होस् । मैले दुर्गम जिल्लाबाट वि.सं.२०५८ सालको एसएलसी परीक्षा द्धितिय श्रेणीमा उत्तिर्ण(जिल्लाभरीबाट जम्मा १४ जना विद्यार्थी उत्तिर्ण) गरेको हुँ ।

प्राविधिक शिक्षाको आवश्यकता त्यसमा पनि एउटा कृषकको छोरो हुनुको नाताले कृषि विषय पढ्ने उत्कृष्ट इच्छा र चाहना भएकोले कृषि विषय पढ्न हौसिएको म तत्कालीन अवस्थामा देशैभरीमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवन एक मात्र कृषि पढाई हुने क्याम्पस थियो । जहाँ अध्ययन गर्न जान मेरो परिवारको आर्थिक हैसियत र त्यहाँसम्मको पहुँचका कारणले असम्भव जस्तै थियो । यसरी अन्य उपाय नलागेपछि गाउँको साहुसँग वार्षिक ३६ प्रतिशत व्याजमा ऋण काढेर सेती प्राविधिक शिक्षालयमा २९ महिने कृषि जेटिए विषय अध्ययन गरेँ । वि.सं.२०६२ साल असारमा ९३.४ प्रतिशत अङ्क ल्याई उक्त पढाई सकेर २०६३ साल असार २५ गते लोक सेवा आयोगबाट सङ्ख्या एक(१) का लागि भएको विज्ञापनमा उत्तिर्ण भई नेपाल सरकारको कृषि सेवा तर्फको रा.प.अनं.द्धि.श्रेणी, ना.प्रा.स.पदमा डोटी जिल्लामा काम गर्ने अवसर प्राप्त गरे ।

तत्पश्चात् ना.प्रा.स.मा काम गरेको ३ वर्षको कार्यअनुभवका आधारमा रा.प.अनं.प्र.श्रेणी, प्रा.स.पदमा खुला विज्ञापनमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान अनुरूप वि.सं. २०६७ सालमा पुनः खुला तर्फको प्रा.स. पदको विज्ञापनको प्रतिस्पर्धा तथा सिफारिसका आधारमा प्रा.स. पदमा सिफारिस भई दुर्गम तथा पिछडिएको जिल्ला बाजुराको कृषि ज्ञान केन्द्रमा हालका मितिसम्म कार्यरत रही देश र कृषकको भलो चिताई आफूले जाने बुझेसम्म दिनरात नभनी कर्तव्यनिष्ठ भई काम गर्दै आइरहेको छु । जुन कुरा यस दौरानमा कार्यालय प्रमुख भई काम लगाउने कार्यालय प्रमुखहरू क्रमशः सूर्यप्रसाद पौडेल, टिकाराम थापा, कौशल कुमार पौडेल, दिव्यदेव भट्ट, यज्ञराज जोशी, रामशरण यादव, राजनारायण राययादव, रामप्रसाद पाण्डे, डा. रामकृष्ण श्रेष्ठ, युगल किशोर तिवारी र मैले काम गरेको कार्यक्षेत्रका ती गरिब किसानहरुहरु साँछिका रूपमा हुनुहुन्छ ।

हालको निजामती सेवा ऐन २०४९(चौथो संशोधन २०७२) मा भएको व्यवस्था अनुसार रा.प.तृतीय श्रेणीमा बढुवा हुनका लागि सम्बन्धित विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने प्रावधान रही आएको र पछिल्लो कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ को व्यवस्थामा समेत स्थानीय तह र प्रदेश रोज्ने कर्मचारीलाई पाँचौँ तहबाट छैटौँ तहमा जानका लागि माथिकै प्रावधान अनुरूपको शैक्षिक योग्यता र ५ वर्ष सेवा अवधि पुगेको हुनुपर्ने गरी व्यवस्था भए अनुरूप यी र यस्ता कर्मचारीको वृत्ति र विकासका लागि बनेका कुनै पनि कानुनमा म जस्ता दुर्गममा बसेर जनताको काममा रमाउने, वर्षमा १ पटक विदेशको त कुरै नगरौं सरकारी कामको सिलसिलामा स्वदेशको राजधानी काठमाडौँ पनि पुग्ने अवसर प्राप्त नगर्ने अनि गरिबीका कारण उच्च शिक्षाको अध्ययन गर्नबाट वञ्चित भई दिनरात आफ्नो पद अनुसारको राज्यले तोकेको जिम्मेवारी पुरा गर्न तल्लीन एक जुनियर प्राविधिक हुनुको नाताले यो चिठी लेख्दाको मितिलाई आधार मानी हालको निजामती सेवा ऐन २०४९ को प्रावधान अनुरूप ८ वर्ष रा.प.अनं.प्र प्रा.स पदमा बितायर अझै २५ वर्ष ५ महिना १० दिन मेरो नोकरी अवधि बाँकी रहेको सन्दर्भमा मैले काम गरिरहेको सर्वोच्च निकायको एक नेत्तृत्वकर्ता र अभिभावक भएको कारणले म र म जस्ता सेवा प्रवेशकै पदबाट सेवा निवृत्त हुनुपर्ने कृषि मन्त्रालय अन्तरगत काम गर्ने जुनियर प्राविधिकहरूले शैक्षिक योग्यताकै आधारमा सेवा प्रवेशको नियमलाई उल्ट्याउदै खेल सुरु भए पछि नियम परिवर्तन गरिए झैँ(सेवा प्रवेश गर्दा जेष्ठताको आधारमा बढुवा हुन पाउने अधिकार थियो) प्राकृतिक न्यायको सिद्धान्त विपरीतका ऐन, नियम र कानुनका कारण तल्लो तहमा काम गर्ने प्राविधिकलाई पर्न गएको यो पिरमर्कालाई तपाईँ समक्ष पुर्‍याउन चाहन्छु । आशा छ एक गरिब किसानको छोरो हुनुको नाताले एकचोटी हाम्रो समस्यालाई बुझ्ने कोसिस गर्नुहुनेछ ।

साधारणतर्फ त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता छ मसँग तर दुर्गम जिल्लामा अनवरतरुपमा काम गर्दा कृषि तर्फको माथिल्लो तहको शैक्षिक योग्यता हासिल गर्न सकिएन । मेरो कृषिको शैक्षिक योग्यता भनेको नै सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता र कृषकलाई मन, वचन र कर्मले दिनरात नभनी प्राविधिक सहयोग गर्नु र मेरो पदको जिम्मेवारी अनुरूपको काम ईमान्दारीपुर्वक पुरा गर्नु नै हो । सामान्य विषय जस्तो कृषि तर्फको प्राविधिक विषय पढाउने पर्याप्त शैक्षिक संस्था छैनन् र भएपनि नियमित उपस्थित हुनुपर्ने वाध्यात्मक व्यवस्था र सरकारी मनोनयन पश्चात् मात्रै अध्ययन गर्न पाउने विषयमा यहाँलाई अवगत नै होला । जसले गर्दा आज दुर्गममा बसेर काम गर्ने म जस्ता जुनियर प्राविधिकको साधारण तर्फको योग्यता हुँदाहुँदै पनि प्राविधिक विषयमा माथिल्लो योग्यता छैन । जसका कारण आज जीवन भरी सेवा प्रवेश गरेकै पदबाट सेवा निवृत्त हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

एउटा बिरालोलाई बन्द कोठामा थुनेर मुसा मार्ने जिम्मेवारी दिँदा जसरी बिरालो मुसा मार्न छोडी आफू कसरी बाहिर निस्किने भन्ने ध्याउन्नमा रहन्छ । ठिक त्यसैगरी मेरो सम्पूर्ण ऊर्जा, उत्प्रेरणाको स्रोत नै यस कारणले बन्द भएको अवस्थामा म कसरी तापाँईको सिपाही भएर लडाइको अग्रपङ्तिमा रहेर देशको समृद्धिको लडाई लड्न सक्छु । राज्यले आन्तरिक प्रतिस्पर्धाको ढोका बन्द गर्‍यो । त्यसमा चित्त बुझाइयो, त्यसपछि ज्येष्ठता र कार्यसम्पादनबाट हुने बढुवाको बाटो बाँकी छ भनेर आस गरियो क्रमशः त्यो बाटो पनि सम्बन्धित विषयमा प्रमाणपत्र तहको अध्ययन पुरा गरेकालाई मात्र खुला राखियो र त्यसबाट बढुवा हुने सानो आशाको त्यान्द्रो पनि चुडालियो । अन्तमा, राज्यको पुनर्संरचनासँगै विरलै प्राप्त हुने सेवा सुविधा अनुसार समायोजनमा स्थानीय तह र प्रदेशमा जाने कर्मचारीका लागि एक तह बढुवाको अवसरमा समेत शैक्षीक योग्यताकै तरबार झुण्डयाएर वञ्चित गरियो र सेवा प्रवेश गरेकै पदबाट सेवा निवृत्त हुनुपर्ने अवस्था म र म जस्ता जुनियर प्राविधिकका अघि बाँकी रह्यो । अव भन्नुहोस् माननीय मन्त्रीज्यु तपाईँलाई मेरो मातहतका निकायमा काम गर्ने कर्मचारी कस्तो अवस्थामा छन् ? उनीहरूले के कस्तो दुःख गरेका छन् ? उनीहरूको शैक्षीक योग्यताको अवस्था के कस्तो छ ? र, नियमहरू बनाउदा उनीहरूलाई पनि कहीँ न कहीँ समेटेर लैजानुपर्छ भन्ने कुरा थाहा नै छैन वा थाहा पायर पनि आँखा चिम्लिनु भयो ? वा प्रशासनमा काम गर्ने बडेमानका प्रशासक ज्युको अगाडी निहुरमुन्टे भावमा हामी जस्ता अग्रपंतिमा उभिएर देशको सेवामा समर्पित राष्ट्रसेवक सिपाहीको योगदानलाई भाडमा जाओस् भन्दै समर्थन जनाउनु भयो ?

एकचोटी विचार गरिदिनुहोस त दुर्गमका ती दुरदराजका बस्तीमा गएर कृषकको सेवा गरेबापत प्राप्त गरेको उपहार वा पुरस्कार भनेको नै आजका दिनमा मैले सजिलै पढ्न सक्ने मेरो सामान्य तर्फको योग्यतालाई मान्यता दिईदैन, प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने र गराउने अवस्था एका देशको कथा जस्तै छ, आन्तरिक प्रतिस्पर्धाको बाटो बन्द गरिन्छ र नयाँ बन्ने नियम कानुन माथिकाले माथिकाकै भलो चिताउने गरी बनाइन्छ भने अबका मेरा बाँकी जागिरे जीवनका २५ वर्ष ५ महिना १0 दिन यसै पदमा रहेर देश सेवा गरिरहँदा मेरो यो राज्य र पेसाप्रतिका उत्प्रेरणाका आधारहरू के हुन् ? यसो भन्दै गर्दा मन नभए किन जागिर खानु पर्‍यो छोडेर गए भई हाल्यो, कसले जवरजस्ति गर्‍या छ पनि भन्नु होला तर यसो भन्दै गर्दा मेरो जबरजस्त जवानी लुटेको छ यो राज्यले । कि मेरो बलवान र उर्जावान समय यो देशका कृषकको सेवाका निम्ति खर्च गरेको छु र अहिले बैँस सकिएपछिको तरुनी जस्तो भएको अवस्थामा यसो भन्न छुट पाउनुहुन्न जुन कुरा यहाँलाई राम्रोसँग हेक्का रहोस् ।

आज एउटा सानो प्रश्न सोध्न चाहन्छु कृषि विकास मन्त्रालयको अग्रपंतिमा उभिएर ज्यानको बाजी थापेर डाँडा र खोला तर्दै आफ्ना दुई खुट्टालाई मोटरसाइकल सम्झिँदै चाउचाउको पेट्रोल हाल्दै नुन र थुकको सहारामा कोदोको रोटीलाई कुनै स्टार होटेलको मिठो खाना सम्झेर घुटुक घुटुक निल्दै पुसको जाडोमा एकसरो ओढ्नेको सहारामा कृषकको पिढिमा सुतेर काम गरेकै भरमा भएको प्रगतिलाई घुम्ने कुर्सीमा ल्यापटपको अघिल्तिर वातानुकुलीत कोठामा बसी फुलवुट्टा भरेर मन्त्रालयको प्रगति प्रतिवेदन तयार गर्दै स्याबासी पाउने, पुरस्कार थाप्ने र विदेश भ्रमणका लागि छनौट हुने कतिजना तपाईँका माथिल्लो ओहोदाका निजामती कर्मचारीहरू सरकारी सुविधा उपभोग गरी(टुरिष्ट भएर जाने बाहेक) जनताको सेवा र उनीहरूको जीवन परिवर्तनका लागि ‌ताप्लेजुङ्गको ओलाङचोङगोला, दार्चुलाको टिंकर, बाजुराको गुम्बा, गोर्खाको छेकम्पार, हुम्लाको लिमी, मुस्ताङको लोमान्थाङ लगायतका दुरदराजका बस्तीमा पुगे होलान् ? ती ठाउँहरूमा अनवरत रूपमा सरकारको उपस्थिति जनाउने जिम्मेवारी म र म जस्ता जुनियर प्राविधिककै काँधमा थियो र छ । तै पनि मेरो कुनै गुनासो छैन सरकारले तोकेको जिम्मेवारी पुरा गर्दै कृषकको जीवन परिवर्तन गर्ने अभियानमा आज पनि भोलि पनि लागिरहने छु ।

हरेक व्यक्तिको एउटा इच्छा र चाहना हुन्छ की आफ्नो कामको मूल्याङ्कन होस्, माथिल्लो तहमा बढुवा हुने अवसर प्राप्त होस्, न्यायोचितरूपमा तालीम गोष्ठी र भ्रमणमा पालो पाईयोस् र जागिरे जीवन आत्मसम्मान सहित उच्च मनोबल र हौसलाका साथ सम्मानित भएर बिताउन सकियोस् र देशको सेवा गर्ने अवसर प्राप्त होस् । यसो भन्दै गर्दा के हामी जुनियर कृषि प्राविधिकहरू राज्यका कर्मचारी होइनौँ ? के हामीलाई प्राकृतिक न्याय प्राप्त गर्ने कुनै हक अधिकार छैन र ? के यो देशको समृद्धिसँग हाम्रो कुनै नाता साइनो नै छैन ? यावत प्रश्नहरूले दिमाग रन्थनिएको बेला तपाईँले ल्याएको समायोजन ऐनको डण्डाले कुनै दूर दराजको स्थानीय तहमा त अवश्य पुर्‍याउने नै छ । तर यसरी एउटै पदमा बिताउनु पर्ने जागिरे जीवनका ३३ वर्षमध्ये अबका २५ वर्ष ५ महिना १0 दिन यही दुर्गम जिल्लाको एउटा कुनामा महिना मरेपछि आउने जीवन निर्वाह भत्ता थाप्दै मेरो फाटेको मन त जेनतेन टाँलौंला तथापि मेरा वा, आमा र जहान त त्यतिवेलासम्म रहनुहुन्छ वा रहनुहुन्न तर मेरा छोराछोरीले बा तपाईँले किन सरकारी जागिर खानु भएको ? बा तपाईँ किन विदेश नजानु भएको ? बा सहरमा हाम्रो घर किन छैन ? बा हामीलाई किन सहरको बोर्डिङ स्कुल नपढाउनु भएको ? बा हजुर कुन पदबाट जागिर सुरु गरी कुन पदबाट सेवा निवृत्त हुनुभयो ? भनेर प्रश्न गरे भने मैले उनीहरूलाई दिने जवाफ म सँग हुने छैन । कि मैले सरकारी सेवामा प्रवेश गरी दुरदराजका बस्तीहरूमा कृषकको सुख र दुःखमा साथ दिँदै गर्दा जीवनमा सही गरे वा गलत गरे त्यसैले कृयया तपाईँले अभिभाकत्व सम्हाल्नु भएको मन्त्रालय अन्तरगतको एक राष्ट्रसेवक जुनियर प्राविधिक कर्मचारी भएर काम गरेको नाताले म र म जस्ता कर्मचारीका छोराछोरीका लागि केही जवाफ भए पठाई दिनुहोला ता कि मर्ने वेलामा त्यो जवाफको कोसेली फुकाउँदै आरामसँग मर्न सकुँ । र एउटा राष्ट्रसेवक कर्मचारी भएकोमा गर्व गर्दै छोराछोरीलाई बाबु तिमीहरूले पनि सरकारी सेवामा प्रवेश गरी देशको सेवा गर्नु भनेर अर्ती उपदेश दिन सकुँ । धन्यवाद !

उही तपाईँको एक सिपाही कर्मचारी
मीनप्रसाद जैसी
कृषि ज्ञान केन्द्र बाजुरा
राजपत्र अनंकित प्रथम श्रेणी
प्राविधिक सहाहयक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार