अपडेट – नुवाकोट दुर्घटनामा ज्यान गुमाउनेको सख्या २० पुग्यो नाम सहित

  मूलधार पोष्ट  272 पटक हेरिएको

नुवाकोट- नुवाकोटमा घेवा सकेर फर्कँदै गरेका स्थानीयबासी शिखरबेसी, दोङजे हुँदै उकालो चढ्दै थिए, कतिले घर फर्कँदै गरेको बारे बीच बाटोबाटै परिवारका सदस्यलाई मोबाइलबाट जानकारी गराउँदै थिए। कतिमा भने अब त घर पुग्नै थालेकोमा छुट्टै रोमाञ्चक्ता थियो । हिजो दिउँसो ४ बजेर ५० मिनेट जानुअघि बा ३ ख ३९१३ नम्बरको आइचर ट्रकमा चढेकाहरुको अवस्था र मनस्थिति यस्तो थियो । तर घ्याङडाँडा जानेक्रममा उप्राको पुलमाथिको मोडबाट ट्रक भीरहुँदै तादी खोलामा खस्यो र २० जनाको घर पुग्ने, परिवारका सदस्यसँग फेरि भेटिने सपना सदाका लागि चकनाचुर भयो।

शिखरबेसीको सिमटाङमा तामाङ समुदायको मृत्यु संस्कार घेवामा सहभागी भएका सिसिपु गाउँका १७ जना र बाँकी अरु गरी २० जनाले ज्यान गुमाउनु पर्यो। दोङजेका स्थानीय युवा नरबहादुर तामाङले सीआईएलाई दिएको जानकारी अनुसार एकजनाको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा र एकजनाको उपचारका लागि लैजाँदै गर्दा रामतिमै मृत्यु भएको छ । १८ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा सिसिपुका ४८ वर्षीय केनाम लामा, ३५ वर्षका आइत तामाङ,३२ वर्षका रिबल तामाङ,२३ वर्षका मङगले तामाङ,५५ वर्षका सेलबोन तामाङ,६२ वर्षका खमसुङ तामाङ,५५ वर्षका टक्कले तामाङ, २६ वर्षका बीबीमाया तामाङको मृत्यु भएको छ ।

१५ वर्षका सीता तामाङ,४३ वर्षका मिङमार तामाङ,२० वर्षका भीमबहादुर तामाङ,३७ वर्षका छोङसेनाम तामाङ, ३४ वर्षका लक्षमान तामाङ,३६ वर्षका सुनसरी तामाङ,४६ वर्षका वीरबहादुर लामाको पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी २० वर्षका कृष्णबहादुर तामाङ,४९ वर्षका मीन तामाङ,४० वर्षका सुनी लामा र २४ वर्षका सुकराम तामाङको पनि मृत्यु भएको घटनास्थलबाट स्थानीय नरबहादुर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार शिखरबेसीका रितेस पण्डितको पनि दुर्घटनामा मृत्यु भएको छ । सुकरामको शिक्षण अस्पताल महाराजगञ्जमा र केनामको उपचारका लागि लग्दै गर्दा रामतिमा मृत्यु भएको हो ।

दुर्घटनामा २२ वर्षका छिरङ तामा, ४० वर्षका रामबहादुर तामाङ,१७ वर्षका अर्का रामबहादुर तामाङ,२६ वर्षका साइला तामाङ, ज्यान गुमाएको बीबीमायाकी ९ महिनाकी छोरी, उमेर नखुलेकी सावित्री तामाङ,४५ वर्षका मसिनो तामाङ,३८ वर्षका मैजित तामाङ,४२ वर्षका वीरबहादुर तामाङ,१८ वर्षका लक्षमान तामाङ,३२ वर्षका चन्द्रबहादुर तामाङ,२६ वर्षका शुकराम तामाङ, उमेर नखुलेका मानबहादुर तामाङ घाइते हुनु भएको छ । ट्रका चालक स्याने बुढाथोकी र सहचालक रामभक्त थापा भने फरार रहेको प्रहरीले जनाएको छ । दुप्चेश्वर गाउपालिकाको शिखरबेसी हुँदै वडा नम्बर एकको घ्याङफेदीतर्फ गइरहेको आइचर ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घेवा सकेर सिसिपु फर्कँदै गरेका तामाङ समुदायका नागरिकले आइचर रिजर्भ गरेर लगेका थिए । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईले अफ्ठेरो बाटो र रातको समय भएका कारण उद्धारमा समस्या भएको सीआईएनसँग बताउनुभयो । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिङ तामाङलगायत स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीबासी दुर्घटनाका घाइतेहरुको उद्धारमा हिजो साँझैदेखि जुटेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार