नक्सापास बिनै धमाधम घरहरु निर्माण हुदै

  मूलधार पोष्ट  369 पटक हेरिएको

बाजुरा –जिल्लाको सदरमुकाम मार्तडीमा बन्न लागेका बजार एरियाका नयाँ घरहरु बडीमालिका नगरपालिमा नक्सा पास नगरि मापदण्ड विपरित धमाधम निर्माण हुन थालेका छन् । जिल्लाको सदरमुकाम मार्तडीको बीचबजारमा निर्माण भईरहेका पाँचदर्जन भन्दा बढी घरहरु नगरपालिकाको नक्सा पास नगरि मापदण्ड विपरित धमाधम निर्माण भईरहेका छन् ।

नगरपालिका भित्र घरहरु निर्माण गर्नु अघि प्रत्येक नागरिकहरुले नगरपालिकामा राजश्व तिरेर अनिवार्य रुपमा नक्सा पास गरी मापदण्ड अनुसार अनुमति लिएर घरहरु निर्माण गरिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । तर जग्गा धनिहरुले नगरपालिकाको व्यवास्ता गर्दै आफ्नो इच्छ्या अनुसार धमाधम घरहरु निर्माण गर्न थालेका छन् ।

जिल्लाको सदरमुकाम मार्तडीलाई समृद्ध शहर बनाउनका लागि नगरपालिकाले जिल्ला बन कार्यालय देखि जिल्ला स्वास्थ्य कार्यालयको मुल गेटसम्म र गौडाडिल देखि खुलामञ्च सम्मको सडक निर्माणका लागि सडक भित्र पर्ने सबै घरहरु भत्काउन जग्गा धनिहरुलाई आग्रह गरेको थियो । सोही अनुसार जग्गा धनिहरुले सडक भित्र परेका घरहरु भत्काएपनि पुनःनिर्माण गर्दा आफ्नो ईच्छ्या अनुसार मापदण्ड विपरित घरहरु निर्माण गरिरहेका छन् ।

हरेक नागरिकहरुले नगरपालिका भित्र घर निर्माण गर्दा प्राविधिकले बनाएको नक्सा, चार किल्ला प्रमाणित, नापी र ट्रेस नक्सा, एकीकृत सम्पत्ति कर तिरेको रसिद सहित नक्सापास गर्न निवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । तर जग्गा धनिहरुले जवरजस्ती रुपमा घरहरु निर्माण गर्दा मार्तडीभित्र बन्न लागेको नयाँ सडक साँघुरो हुने देखिन्छ ।

नगरपालिकाका प्रमुख निमित्त प्रशासकीय अधिकृत हिरालाल भण्डारीले भने नगरपालिकाको मापदण्ड विपरित नक्सापास नगरी सदरमुकाम मार्तडीमा निर्माण भईरहेका घरहरु नगरविस्तार गर्ने क्रममा जुनसुकै बेलापनि भत्काउन सकिने बताएका छन् । बाजुराको सदरमुकाम समेत रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविसलार्ई समेटेर नेपाल सरकार मन्त्री परिषदको २०७१ साल मंसिर १६ गतेको निर्णयले नगरपालिका घोषणा गरेको थियो ।

नगरपालिका घोषणा भएसंगै बडीमालिका नगरपालिकाले विकासका काममा तीव्रता दिएको भएपनि नगरपालिकाकै निति नियम विपरित यसरी जग्गा धनिहरुले मनोमानि तरिकाले सदरमुकाम मार्तडीमा घरहरु निर्माण गर्दापनि नगरपालिकाले चासो नदिएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार