संवैधानिक परिषद्को बैठक फेरि स्थगित यस्तो छ कारण

  मूलधार पोष्ट  195 पटक हेरिएको

काठमाडाै‌- नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बुधवार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक फेरि स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बिहान ९ बजेका लागि बोलाइएको बैठक भोलि ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।योसमेत गरी संवैधानिक परिषद्को बैठक तेस्रो पटक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विपक्षी दलका नेता देउवा उपस्थित नभएपछि भोली बिहान ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिनुभयो । बैठकमा सहभागी हुन संवैधानिक परिषद्का सबै सदस्य निर्धारित समयमै पुगे पनि कांग्रेस सभापति देउवा उपस्थित हुनुभएन ।

उहाँले पार्टीको विशेष काम परेकाले आजको बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको बताइएको छ ।यसअघि हिजो पनि दुई पटक बैठक स्थगित भएको थियो । हिजोको बैठकमा आगामी पुस ५ गते बस्ने सहमति भएको थियो ।तर, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न ढिला हुने भन्दै प्रधानमन्त्री ओलीले आजै बैठक आह्वान गर्नुभएको थियो ।प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यस अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिसक्नु पर्दछ ।संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यसअघि नै वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको छ ।सामान्यतः एक महिना अघि नै नियुक्तिको सिफारिस गर्ने चलन भए पनि संवैधानिक परिषदको बैठक नै बस्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा विलम्ब हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार