शैक्षिक गुणस्तर सुधारका लागि बहस

  मूलधार पोष्ट  234 पटक हेरिएको

बाजुरा-जिल्लाको बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय स्तरीय शैक्षिक बहस सञ्चालन गरेको छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाईसँगै राखेर समस्याको उठान, सवाल पहिचान र समाधानको विकल्प सहीतको संवादका लागि शैक्षिक बहस सञ्चालन गरेको हो ।

नगरपालिकाले पहिलो चरणका नगर क्षेत्र भित्रका ८ वटा विद्यालयमा गर्ने भएको छ । शिक्षासँग सरोकार राख्ने निकाय र स्थानीय सञ्चार माध्यमसँगको सहकार्यमा सार्थक छलफलका शैक्षिक बहस सञ्चालन गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

शिक्षा विकासको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गतिविधी गरिरहेको नगरपालिकाले कमजोरी सुधार गर्दै सबै पक्षलाई विद्यालय प्रति जवाफदेहि र उत्तरदायी बनाउन बहस थालेको हो । शैक्षिक गुणस्तर मात्र भएन भन्ने मान्यताको अन्त्यका लागि र नयाँ बहस र जिम्मेवारी बहनका लागि खुला बहस कार्यक्रम थालिएको नगरपालिकाले बताएको छ ।

पहिलो चरणमा शैक्षिक गुणस्तरमा कम उपलब्धी हासिल गरेका र राम्रो गुणस्तर कायम गरिरहेका विद्यालयलाई छनोट गरिएको छ । जसमा लक्ष्मी मावि, ज्ञानुदय मावि, चोयाकोट मावि, कैलाश मावि, सत्यवादी मावि, जाल्पा मावि, नेरा मावि, मालिका नमुना माविमा बहस सञ्चालन हुनेछ ।

शैक्षिक संवादको पहिलो कार्यक्रम लक्ष्मी मावि जिल्ली र दोस्रो कार्यक्रम ज्ञानुदय मावि रजातोलीमा गरिएको छ । विद्यालयमा भौतिक अवस्था कमजोर भएको, प्रस्ताविक निमावि र मावि तह सञ्चालन गरेको, लाखौ रुपैया तलब सुविधा तिर्न बाँकी रहेको अवस्था छ । अभिभावक, शिक्षक, विद्यार्थीको सक्रियता, जनश्रमदान, आवश्यक लगानी बारे खुला बहस गरिएको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

नगर प्रमुख, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहीत पदाधिकारी, शिक्षक अभिभावक संघ, सरोकारवाला निकाय, शिक्षक विद्यार्थी बीचमा हाल अवस्थालाई सुधार गर्नु पर्ने आधार र साझेदारी तथा आपसी सहकार्यका विषयमा बहस गरिएको विद्यालयका प्रअ कुष्मराज पण्डितले बताएका छन् ।

कार्यक्रम नगर पालिका, सहयोगी हातहरुको समूह सहास नेपाल, रेडियो बाजुरा र रेडियो पौरखीको सहकार्यमा सञ्चान गरिएको हो । स्थानीयले शिक्षक नियमित उपस्थित नभएको, भौतिक अवस्था दयनिय रहेको, अभिभावकको सहयोगी भूमिका नरहेको, छात्रा मैत्री शौचालय नभएको जस्ता समस्या देखिएका छन् ।
त्यस्तै ५ जना नीजि शिक्षकलाई पाल्न समस्या देखिएको, स्थानीयले नीजि विद्यालयको जस्तै शुल्क तिर्नु परेको र राज्यको बेवास्ताका कारण गुणस्तर सुधारमा समस्या रहेको शिक्षक अभिभावक संघका अध्यक्ष मनीराम खत्रीले बताएका छन् । विद्यार्थी सरिता जोशीले शिक्षकको लापरवाही र बेवास्ताले गुणस्तर सुधार नभएको बताएका छन् ।

विद्यालयमा छात्रा मैत्री शौचालय अभाव हुँदा विद्यालय महिनाबारी भएको बेला विद्यालय नियमित नभएको र पठन पाठनमा समस्या देखिएको ज्ञानुदय माविका प्रअ विजयराम पाध्यायले बताएका छन् । नगर प्रमुख पदम बडुवालले शुन्य स्तरबाट सुधार गर्न भएपनि वास्तविक समस्याको पहिचान गरेर सहयोग गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

बहस कार्यक्रमले नगर शिक्षा नीतिलाई नै थप परिमार्जन गरी अघि बढ्न सजिलो हुने बताएका छन् । शिक्षामा गर्नु पर्ने लगानी र सुधारको पाटोलाई केलाउन तथा पहिचान गर्न बहस सञ्चालन गरिएको सहास नेपालका जिल्ला कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताएका छन् ।

वडा अध्यक्ष धर्मराज पाध्यायले काम नगर्ने, शिक्षा विकासमा सहयोग नपुर्याउने, राजनीति आस्था र पूर्वाग्रहीरुपमा काम गर्ने जुन सुकै समुदायको व्यक्तिलाई पनि योजना दिन देखि सुविधा दिनमा निगरानी गर्ने बताएका छन् ।
अभिभावकले पनि अपनत्व विकास गरी सक्रिय रहने बताएका छन् । विव्यस अध्यक्ष झुमा खत्रीको अध्यक्षमा सञ्चालन भएको कार्यक्रममा लक्ष्मी माविका प्रअ कुष्मराज पण्डितले विद्यालयको तर्फबाट नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । बहसको सहजिकरण रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार