जागिर नपाएर हैरान हुनुहुन्छ ? प्राधिकरणले ५३ हजारलाइ जागिर दिदैछ

  मूलधार सम्वादाता  921 पटक हेरिएको

काठमाडाैं-  जागिर नपाएर हैरान हुनु भएको छ ? त्यसो हो भने चिन्ता नगर्नुस, अब भत्तासहितको तामिल र तालिमपछि रोजगारीको अवसर प्राप्त हुँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७ दिनको तालिमसँगै रोजगारीको अवसर प्रदान गर्दैछ । प्राधिकरणका प्रवक्ता यमलाल भुषालका अनुसार प्राधिकरणले ५३ हजार युवालाई ७ दिनको तालिम दिएर पुननिर्माणको काममा खटाउँदैछ ।

प्राधिकरणले भूकम्प प्रभावित जिल्ला र त्यसका केहि केन्द्रहरु तोकेर तालिम दिनेछ । त्यसरी तालिम लिनका लागि सोही क्षेत्रमा निर्माण क्षेत्रमा काम गरिरहेका युवाहरुलाई वडा कार्यालयहरुको सिफारिसका आधारमा तालिममा समावेश गरिनेछ । ‘गाउँ गाउँमा डकर्मीलाई सात दिनको तालिम दिएर ५३ हजारलाई रोजगारी दिँदैछौं’, प्राधिकरणका प्रवक्ता भुषालले भने ।

मंसिर भित्र डकर्मी सिफारिस तथा छनौट सकेर पुस महिनादेखि तालिम आरम्भ गर्ने पनि उनले जानकारी दिए । हाल प्राधिकरणले तालिम उपलब्ध गराएका ४७ हजार डकर्मीहरु पुननिर्माणको काममा खटिएका छन् । उनीहरुले पाउने ज्याला भने स्थानीयस्तरमा आपसी समझदारीबाट तय हुनेछ । ‘रोजगारीका लागि भन्दै दैनिक हजारौं युवा विदेशिएका छन, प्राधिकरणले प्राबिधिक तालिम दिएर आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर प्रदान गर्दैछ’, भुषालले भने ।

यसरी तालिम प्राप्त जनशक्तिले भूकम्पपछिको पुननिर्माण सम्पन्न भएसँगै निर्माण क्षेत्रमा काम गरेर राम्रो आम्दानी गर्न सक्नेछन् । नेपालको निर्माण क्षेत्रमा स्वदेशी जनशक्तिको अभावमा ठुलो मात्रामा भारतीय कामदारले रोजगारी पाईरहेका छन् ।

नेपालको निर्माण क्षेत्रलाई राम्रो आम्दानी हुने रोजगारीको क्षेत्र मानिन्छ । पुननिर्माणको काम सम्पन्न भएपछि नेपालको निर्माण क्षेत्रमा ठुलो संख्यामा नेपालीहरुले नै रोजगारी पाउनेछन् ।

प्राधिकरणले पुननिर्माणको कामलाई भूकम्प प्रतिरोधी र छिटो गतिमा अघि बढाउनका लागि डकर्मीहरुलाई तालिम उपलब्ध गराएको भएपनि तालिम लिईसकेपछि विदेशिने क्रम बढेपछि भने पुननिर्माणमा असर गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार